सोमबार, १६ चैत्र, २०८२

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

२०८२ चैत्र १५, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए । 

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । 

उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो । 

त्यस्तै श्रेष्ठको इजलासले केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ।

advertisement_1676553908.gif