राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ भदौ ३० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गरिन् ।
उनका अनुसार जोशीले आफ्नो व्यापार–व्यवसाय र घर मात्रै नभई परिवारका पाँच जना सदस्य—आमा, श्रीमती, दुई छोरा र बुहारी गुमाएका छन् । तीमध्ये एक छोराको शव भेटिए पनि डीएनए रिपोर्ट नआएको भन्दै परिवारलाई शव बुझाउन कठिनाइ भइरहेको उनले बताइन् ।
ओलीले भनिन्, ‘उहाँ एक जना होइन, यो अवस्थाबाट गुज्रिरहनुभएको धेरै परिवारहरू हुनुहुन्छ । अब उहाँजस्तो पीडामा भएको मान्छेले कसरी त्यत्रो समय कुर्न सक्नुहुन्छ? राज्यको संवेदनशीलता यहाँ आवश्यक छ ।’
प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिनभन्दा बढी भइसके पनि रिपोर्ट नआएको जोशीले आफूलाई जानकारी गराएको उनले बताइन् । डीएनएको रिपोर्ट सबैको एकैपटक निकाल्ने र त्यसका लागि तीन–चार महिनासम्म लाग्न सक्ने जानकारी पाएको पनि ओलीले सदनलाई जानकारी गराइन् ।
उनले पूर्ण रूपमा पहिचान खुलिसकेका शवको छुट्टै व्यवस्थापन गरी सनाखत तथा मुचुल्का उठाएर तत्काल परिवारलाई जिम्मा दिन सरकारसँग आग्रह गरिन् ।