राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज १२ काठमाडौँ I साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट तीन दिनको म्याद प्राप्त भएको हो ।
साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई लक्षित गरी चरित्र हत्या गर्ने, भ्रामक तथा अनर्गल प्रचारप्रसार गर्ने र विद्युतीय माध्यमको दुरुपयोग गरी सामाजिक सद्भाव भड्काउने किसिमका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि पनि विभिन्न विवादित अभिव्यक्ति तथा राज्य संयन्त्रविरुद्धका गैरकानुनी गतिविधिका कारण पक्राउ पर्दै आएका प्रसाईँमाथि थप प्रमाण जुटाउने र सोधपुछ गर्ने कार्य भइरहेको ब्यूरोले जनाएको छ ।