राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८२ मंसिर ११, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन अन्तर्गतको बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरलाई पराजित गर्दै पोखराले पहिलो जित हासिल गरेको हो ।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो। जनकपुरका वायन पर्नेलले अर्धसतक बनाए । उनले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५० रन बनाएर रिटायर्ड आउट भए। पोखराका बिपिन खत्रीले ४ विकेट लिए भने सुमित वर्माले २ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखराले सुमित वर्माको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। सुमितले २९ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै दिनेश खरेलले ३८ तथा तृतराज दासले २९ रन बनाए। जनकपुरका सञ्जय कृष्णमृर्तीले ३ विकेट लिए ।
जारी एनपीएलमा पोखराले तीन खेल खेल्दा पहिलो जित हासिल गरेको छ । साविकको विजेता जनकपुर भने जनकपुर भने तीन खेल खेल्दा पनि जितविहिन रहेको छ ।