राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ भाद्र, २०८०
नेपालगन्ज। साहित्यकार कल्पना पौडल ‘जिज्ञासु’को कथासङ्ग्रह “कचहरी” एक कार्यक्रमका वीच शनिवार विमोचन गरिएको छ । कल्पना फाउण्डेसन नेपालद्वारा यहाँ आयोजित एक विशेष कार्यक्रमका वीच सम्पन्न विमोचनका साथै दुई जनालाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश विश्वविद्यालय आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा फाउण्डेसनकि अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षता सम्पन्न कार्यक्रममा ‘कचहरी कथा सङ्ग्रह’को विमोचनका साथ वरिष्ठ कथाकार सनत रेग्मीलाई साहित्य तर्फ “मनिकर्णा–टिकाराम स्मृति पुरस्कार” द्वारा सम्मानित गरिएको थियो ।
त्यसैगरि समाज सेवा तर्फ मानव सेवा आश्रम, कबाँकेका संयोजक उर्विन सापकोटा मार्फत् “देउकला–टीकानिधि स्मृति पुरस्कार”द्वारा मानवसेवा आश्रम नेपालगन्जलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्ण प्रसाद घिमिरे, विशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्की, पूर्व प्राज्ञ सनत रेग्मी, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, मानव सेवा आश्रम, कबाँकेका संयोजक उर्विन सापकोटा र साहित्यकार किरण आचार्य, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’, प्रगतिशील लेखक संघ बाँकेका पूर्व अध्यक्ष पङ्कज श्रेष्ठ, साहित्यकार मणि अर्याल लगायतले कचहरी कथासङ्ग्रहका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा वक्ताहरुले कचहरी कथासङ्ग्रहमा रहेका १५ वटै कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, वृद्धाहरुका समस्या, वैदेशिक रोजगारका समस्या, मधेशी, मुस्लिम, थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषयवस्तु बनाएर कथाको वुनोटमा बुनिएकोले कथाहरु पठनीय रहेको, विषयवस्तु महिलावादी र प्रगतिवादी रहेको, विषयवस्तु र भाषा शैलीको हिसाबले कथा उत्कृष्ट रहेकोले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।
साहित्यकार चरित्रा शाहले कचहरी कथासङ्ग्रहको परिचयात्मक मन्तव्य दिनुभएको थियो भने संस्थाकि अध्यक्ष तथा कृतिकार कल्पना पौडेल ‘जिज्ञासु’ले आफ्नो कृतिको बारेमा संक्षिप्त धारणा राख्दै सम्मानित व्यक्ति तथा संस्थालाई बधाई दिनुभएको थियो ।
हिमालय टाईम्सका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको समेत उपस्थित रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तथा फाउण्डेसनका संस्थापक सदस्य ऋषिराम सापकोटाले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लेकप्रसाद प्याकुरेलले गर्नु भएको थियो ।
फाउण्डेसनका संस्थापक सदस्य ऋषि राम सापकोटाका माता पिताको नाममा स्थापना गरिएको “देउकला–टीकानिधि स्मृति पुरस्कार तथा सम्मान” र कल्पना पौडेल ’जिज्ञासु’का माता पिताको नाममा स्थापित “मनिकर्णा–टिकाराम स्मृति पुरस्कार तथा सम्मान” हरेक वर्ष दुईजनालाई प्रदान गरिने पुरस्कारको राशी रु.५ हजार एक सय एक रहेको फाउण्डेसनकि अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंंघ, नेपालकि अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले जानकारी दिनु भयो ।
अध्यक्ष ‘जिज्ञासु’ले गत वर्ष फाउण्डेसनबाट साहित्य तर्फ खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीलाई र समाज सेवा तर्फ नील सागर सेवा आश्रमलाई सम्मान गरिएको थियो भने यस वर्षदेखि सम्मानका साथै पुरस्कार पनि वितरण गर्न थालिएको बताउनु भयो । अध्यक्ष ‘जिज्ञासु’का अनुसार फाउण्डेसनले २०७० सालदेखि चितवनको चेपाङ बस्ती र नवलपरासीका गरीब असहाय बालबालिकाहरुलाई पढ्नको लागि छात्रवृत्तिबाट प्रदान गर्न शुरु गरेको थियो । संस्थाले सहयोग गरिरहेका बालबालिकाहरु एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पि.ए. उत्तीर्ण भइसकेका छन् भने बाग्लुङ र बाँकेमा समेत गरीब असहाय बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।