बिहीबार, २१ श्रावण, २०८३

अब काठमाडौंका होटल र रेष्टुरेन्टमा हुक्का र चुरोटमा कडाइ

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

अब काठमाडौंका होटल र रेष्टुरेन्टमा हुक्का र चुरोटमा कडाइ

२०८३ साउन २०, काठमाडौँ । काठमाडौं जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टमा अब व्यवस्थित र तोकिएको स्थानबाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्थापन गर्न कडा निर्देशन दिएको हो ।

होटेल र रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको र व्यवसायीहरूले कानुनी व्यवस्थाको पालना नगरेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले बताए ।

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार अबदेखि काठमाडौंका होटेल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थलहरू प्रष्ट देखिने गरी छुट्याउनुपर्ने छ । प्रशासनका अनुसार धुम्रपान गर्न मिल्ने गरी तोकिएको स्थान चारैतिरबाट बन्द भएको र त्यसको धुँवा वा असरबाहिर रहेका अन्य ग्राहकहरूलाई नपर्ने प्रकृतिको हुनुपर्ने छ । 

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अन्य अनुगमन निकायहरूले जुनसुकै बेला होटेल तथा रेस्टुरेन्टहरूको अनुगमन गर्ने जनाइएको छ । अनुगमनका क्रममा कानुनविपरीत कार्य गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ बमोजिम कडा तथा अधिकतम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनको पालना गरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।

advertisement_1680627680.gif