राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ साउन २०, काठमाडौँ । नेपाली राजनीतिमा राजावादी धारलाई अझ सशक्त बनाउने उद्देश्यका साथ अभियन्ता दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । 'जय नेपाल पार्टी' नाम प्रस्ताव गरिएको उक्त नयाँ दलमा दुर्गा प्रसाईंलाई 'सर्वोच्च नेता'को पद दिइने भएको छ। राप्रपाको महामन्त्री पदबाट राजीनामा दिएका डा. राणा र प्रसाईंबीचको सहमतिपछि दल दर्ता तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको हो ।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको चाबहिलमा स्थापना भइसकेको छ भने विधान समेत तयार भइसकेको नेताहरूले जनाएका छन् । निर्वाचन आयोगमा दर्ताका लागि आवश्यक प्रक्रिया जारी रहेको र हाल निर्वाचन चिन्ह भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । नयाँ दलको सांगठनिक संरचनामा प्रसाईंलाई सर्वोच्च नेताको सम्मानजनक पद प्रदान गरिए पनि वरीयतामा भने उनी अध्यक्ष डा. राणापछिको स्थानमा रहनेछन् । पार्टीको मुख्य नेतृत्व र प्रशासनिक जिम्मेवारी अध्यक्षको रूपमा डा. राणाले नै सम्हाल्ने सहमति भएको छ ।
यसअघि प्रसाईंलाई 'सर्वोच्च कमाण्डर' बनाउने प्रस्ताव गरिए पनि त्यसमा उनको असन्तुष्टि रहेपछि 'सर्वोच्च नेता'को पद तय गरिएको स्रोतको दाबी छ । यसका साथै, आगामी आम निर्वाचनपछि प्रसाईंलाई जय नेपाल पार्टीको तर्फबाट संसदीय दलको नेता बनाउने आन्तरिक समझदारी समेत भइसकेको छ ।