बिहीबार, १० बैशाख, २०८३

२४ घण्टामा देशभर विपदका ५० घटना, १ जनाको मृत्यु, ४ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

२४ घण्टामा देशभर विपदका ५० घटना, १ जनाको मृत्यु, ४ जना घाइते

२०८३ बैशाख १०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५० वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार हाल देशभर आगलागी र वन डढेलोको जोखिम उच्च रहेको छ । 

विवरणअनुसार १५ जिल्लाका २३ स्थानमा वन डढेलो लागेको छ, जसलाई नियन्त्रणमा लिन १०७ जना प्रहरी परिचालन गरिएको थियो । यस्तै, १४ जिल्लाका २० स्थानमा घर तथा बस्तीमा आगलागी हुँदा एक जना घाइते भएका छन्। आगलागी नियन्त्रणका लागि ८७ जना सुरक्षाकर्मी खटिएका थिए ।

मानवीय क्षतिअन्तर्गत जनावरको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । त्यसैगरी सर्पदंशका दुई र आगलागीका एक गरी कुल चार जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

आर्थिकतर्फ हेर्दा, विभिन्न विपद्का कारण करिब २५ लाख ८९ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । साथै, १७ वटा चौपायाको समेत क्षति भएको तथ्यांकमा उल्लेख छ।

अन्य घटनाहरूमा एक जिल्लामा एक स्थानमा पहिरो गएको छ भने दुई जिल्लामा दुई वटा सर्पदंशका घटना दर्ता भएका छन् । सबै घटनास्थलमा गरी २२७ जना नेपाल प्रहरी परिचालन भई उद्धार तथा राहत कार्य सञ्चालन गरिएको थियो ।

विपद्का घटनाहरू बढ्दो क्रममा देखिएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन, विशेषगरी आगलागी र वन डढेलो नियन्त्रणमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

advertisement_1676551694.gif