राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८२ चैत्र १५, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले आज देशव्यापी आन्दोलन गर्ने भएको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी देखिएको भन्दै ओलीलाई हिजो उनको निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेले आन्दोलनको घोषणा गरेको हो ।
एमाले सचिवालयको आकस्मिक बैठकले अध्यक्ष ओलीको बिनाशर्त रिहाइको माग गर्दै आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
पार्टी स्रोतका अनुसार संघीय राजधानी काठमाडौँमा विशेष प्रदर्शनको तयारी गरिएको छ। माइतीघर मण्डलमा भेला भई नारा-जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । हिजो पनि पार्टी सम्बद्ध जनवर्गीय संगठनहरूले माइतीघरदेखि बानेश्वरसम्म राँके जुलुस र विरोध प्रदर्शन गरेका थिए ।
अध्यक्ष ओलीको पक्राउलाई एमालेले 'राजनीतिक प्रतिशोध' को संज्ञा दिएको छ । यसै विषयमा कानुनी परामर्शका लागि आज बिहान १०:३० बजे एमालेले कानुनविद्हरूसँग अन्तरसंवाद कार्यक्रम राखेको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय, पुतलीसडकमा आयोजना हुने उक्त कार्यक्रममा वर्तमान परिस्थिति र कानुनी उपचारका विषयमा छलफल हुने बताइएको छ ।
सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा हाम्रा नेतालाई पक्राउ गरेको छ। यसको प्रतिवाद सडक र सदन दुवै ठाउँबाट हुनेछ," एमालेका एक पदाधिकारीले बताए।अध्यक्ष ओली पक्राउ परेपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने विभिन्न जिल्लाहरूमा एमाले कार्यकर्ताहरूले स्वतःस्फूर्त प्रदर्शन गरिरहेका छन्।