राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८२ चैत्र १५, काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिबारे अनुसन्धान सुरु गरिएको छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित निकायको सिफारिसपछि प्रहरीले औपचारिक रूपमा छानबिन अघि बढाएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूको चल–अचल सम्पत्ति तथा आयस्रोतबारे अध्ययन गरिरहेको बताइएको छ । सोही क्रममा पूर्वमन्त्री दीपक खड्कालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको हो ।
तीन पूर्वप्रधानमन्त्रीसँगै दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ। आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान भइरहेको छ ।
प्रहरीले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रहेश लेखकलाई पक्राउ गरेको थियो । उनीहरू दुवैलाई हिजो ज्यानसम्बन्धि मुद्दामा पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाएको मुद्दा छुट्टै हो । विभागले अनुसन्धान गरिरहेको मुद्दामा आज पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
देउवा दम्पति देशबाहिर छन् । प्रचण्ड र भूषण राणालाई भने पक्राउ गरिएको छैन । सम्पत्ती शुद्धीकरणको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । ओली र लेखको ज्यानसम्बन्धी छुट्टै मुद्दामा भने जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।