राष्ट्रिय सन्देश संबाददाता, २४ मिनेट पहिले
२०८३ भदौ १७ काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडितहरूको अवस्थाबारे जानकारी लिएका छन्। बुधबार ओली नेतृत्वको टोलीले बाढी तथा पहिरोबाट बढी प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी क्षेत्रको भ्रमण गरेको हो।
अवलोकनका क्रममा अध्यक्ष ओलीले स्थानीय बाढीपीडितहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूका गुनासो, पीडा र आवश्यकताहरूबारे चासो व्यक्त गरे। सो अवसरमा अध्यक्ष ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत लगायतका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो।
एमालेले विपत्तिको यस घडीमा आफ्ना जनवर्गीय सङ्गठनहरूलाई उद्धार र राहतमा पूर्ण रूपमा परिचालन गरिएको जनाएको छ। अध्यक्ष ओलीको भ्रमणसँगै राष्ट्रिय युवा सङ्घ नेपाल, अनेरास्ववियु, र नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) लगायतका भातृसंस्थाहरू प्रभावित क्षेत्रमा खटिएर उद्धार, राहत सामग्री वितरण तथा पुनस्र्थापनाका कार्यहरूमा सक्रिय भइरहेका छन्। एमालेले बाढीपीडितहरूका लागि आवश्यक राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यान खिच्दै आफ्ना कार्यकर्ताहरूलाई थप राहत कार्यमा जुट्न निर्देशन दिएको छ।