बुधबार, १७ भाद्र, २०८३

संकटमा आँसु र विलाप होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ: प्रधानमन्त्री शाह

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

संकटमा आँसु र विलाप होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ: प्रधानमन्त्री शाह

२०८३ भदौ १७ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यो कठिन घडीमा सरकार दृढतापूर्वक उद्धार तथा पुनर्स्थापनामा लागिरहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय एवम् भौतिक क्षति र सरकारले गरिरहेका कामकारबाहीबारे संसद्लाई विस्तृत जानकारी गराएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

“भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो । यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो,” उनले भने ।

संकटको समयमा देशको नेतृत्वले निराशा होइन, जनतालाई भरोसा दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले अहिले विलाप गर्ने वा थाकेर विश्राम लिने समय नरहेको बताए ।

“शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन । संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ भन्ने यथार्थलाई स्वीकार गरेका छौँ । त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन, हामी लडिरहेका छौँ,” उनले थपे ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि तत्कालै राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन गरिएको जानकारी गराए ।

प्रभावित नागरिकको उद्धार, राहत वितरणका साथै अवरुद्ध बनेका सडक र सञ्चार सेवा पुनः सञ्चालन गर्न प्राथमिकताका साथ काम भइरहेको र मानवीय क्षति एवम् भौतिक क्षतिको अन्तिम विवरण संकलन भइरहेको उनले संसद्लाई अवगत गराए ।

advertisement_1676998982.gif