राष्ट्रिय सन्देश संबाददाता, ५७ मिनेट पहिले
२०८३ भदौ १७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बैठकमा पनि विपद्को समयमा सरकारलाई कसरी सहयोग गर्ने, सरकारले कहाँ–कहाँ र कसरी काम गर्ने तथा सबै राजनीतिक दल कसरी एकजुट हुने भन्ने विषयमा छलफल भएको बताए ।
‘सरकारलाई यो विपद्को बेला हामी साथ दिइरहेका छौँ। यतिखेरको समय भनेको हामी सबै मिलेर नागरिकलाई कसरी बचाउने, बेपत्ता भएका मानिसहरूलाई कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ । सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उनले भने ।
सांसद शाहीले विपद्मा पीडितको आँसु पुछ्ने तथा क्षतिग्रस्त घरहरू पुनर्निर्माण गरी नागरिकलाई पुनः सामान्य अवस्थामा फर्काउने जिम्मेवारी पनि सबैको भएको बताए ।
‘यो विपद् कसैले बोलाएर ल्याएको होइन । कसैले आउनू भनेर आएको पनि होइन। यो विपद् अकस्मात् आएको हो,’ उनले भने । उनले विपद्पछि राज्यका संयन्त्रहरू परिचालित भए पनि चिलिमे सुरुङमा रहेका मानिसहरूको उद्धारमा पर्याप्त तदारुकता नदेखिएको आरोप लगाए ।
शाहीका अनुसार बाढी आएको दिन दिउँसो २ बजेभित्रै आफू गृह मन्त्रालय पुगेर विपद् व्यवस्थापन शाखालाई सुरुङभित्र मानिसहरू रहेको र उनीहरूको फोन नम्बरसमेत उपलब्ध गराएको जानकारी दिए । उनले गृहमन्त्रीलाई समेत यसबारे जानकारी गराएको तर उक्त सूचना समयमा सुनुवाइ नभएको दाबी ग रे।
उनका अनुसार ७२ घण्टापछि मात्र सुरुङमा अनुगमन टोली पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पुगेको थियो। उक्त उद्धार टोली सरकारको नभई आफूहरूले पठाएका पर्वतारोहीहरू रहेको उनले बताए ।