राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ पुष, २०८१
२१ पुष, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । आज केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीय रुपमा एमाले विरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका गरेका छन् । एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रहसमेत गरेका छन्।
राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात, र पुँजीगत खर्चमा वृद्धि भएको तथा पुँजी बजारमा सुधार आएको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन् । पहिलोपटक देशको सार्वभौम ‘क्रेडिट रेटिङ’बाट हाम्रो राष्ट्र दक्षिण एसियामा भारतपछिको दोस्रो लगानीयोग्य मुलुकका रुपमा परिचित भएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले भने ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन्, चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो, विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ र हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नु पर्छ, वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ, लोकतन्त्रका नाममा पार्टी भित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन, बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’
हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीका ६९ हजार बचतकर्ता मध्येबाट तीनवटा सहकारीका छ हजार बचतकर्ताहरूको करिब रु एक अर्ब ५५ करोड रकम फिर्ता भइसकेको प्रधानमन्त्री ओलीले बताए । उनले अन्य सहकारीका करिब आठ हजार बचतकर्ताको ७० प्रतिशत र दुई हजार बचतकर्ताको ५० प्रतिशत बचत फिर्ता भइसकेको जानकारी दिए ।