राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २८ भाद्र, २०८०
काठमाडौं। आज भाद्र कुशे औंसी। बुवालाई सम्मान प्रकट गर्दै देशभर कुशे औंसी मनाइदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर यजमानहरू कहाँ पु-याइएको कुश घर–डेरामा राख्दा परिवारको कल्याण हुन्छ भन्ने मान्यता छ । हिन्दुले कुश, पीपल, शालिग्राम र तुलसीलाई विष्णु भगवान्को प्रतीक मान्छन् ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।
आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्छ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कतिपयले बुवाको मुख हेर्नेदिनलाई फादर्स डे पनि भन्छन्। तर फार्दस डे र बुवाको मुख हेर्ने दिनमा फरक छ। सन् १९०९ मा पहिलो पटक श्रीमती सोनोरा डोडले आफ्नो पिताको सम्मानमा मनाएकि थिइन्। त्यसपछि फार्दस डेलाई जुन १९, १९१० मा अमेरीकामा मनाइएको थियो। तर, बुवाको मुख हेर्ने दिन कहिलेबाट मनाउन थालियो भन्ने कुनै यकिन तथ्यांक छैन। यो पौराणिक कालबाटै मनाउन थालिएको किवंदन्ती छ।