राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २५ कार्तिक, २०८०
काठमाडौं। नेपालीहरूकाे दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।
कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ भक्तसमेत हो। आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का का का भन्दै बोलाएर खान दिइन्छ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।
तिहारको पहिलो दिन आज कागको पुजा गरेर काग तिहार भनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलिराजालाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाएस भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरि तिहार पर्व मनाइएको कथा जोडिएको छ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठो खान दिई खुसी पार्ने गरिएको हो।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।
आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल संवत् र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।