राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८२ चैत्र १६, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।
आज बिहान ६:४५ बजेको समयमा भएको दुर्घटनामा तीनवटै गाडीका चालकहरु घाइते भएका छन् । अन्य ८/९ जना पनि सामान्य घाइते भएको र विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका १२ वस्ने ३३ वर्षीय दर्शन काप्री घाइते छन् ।
हात्तीगाडी चालक काप्रीको छात्तीमा चोट छ । बस र ट्रक चालकहरुको भने दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । ती तिनै जना चालकहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
बसमा सवार अरु ८/९ जना यात्रुहरु समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।