राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०२, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सरकारी स्कर्पियो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
आज बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्कर्पियोमा उच्च अदालत वीरगञ्ज पर्साका मुख्य न्यायाधीश, रजिस्ट्रार तथा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चार पुरुष र दुई महिला घाइते भएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको जनाएको छ । उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।