राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ फाल्गुन, २०८२
२०८२ फागुन ०१, काठमाडौं । हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसंघीय रेडियो स्थापना भएको सम्झनामा मनाउने गरिन्छ । यस बर्षको विश्व रेडियो दिवसको नारा ‘रेडियो र कृत्रिम बुद्धिमत्ता: एआई एउटा उपकरण हो, आवाज होइन’ भन्ने रहेको छ ।
रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ । लोकतान्त्रिक संवादका लागि रेडियो महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो रहेको छ । व्यापक श्रोतासम्म पुग्ने यसको विशिष्ट क्षमताले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा रेडियोले काम गरेको छ ।
रेडियो ‘स्टेशन’हरूले विविध समुदायलाई सेवा पुर्याउँदै विभिन्न कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ । कम लागतमा सञ्चालन गर्न सकिने माध्यम भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न विशेष रेडियो उपयुक्त मानिन्छ । यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ । आपतकालीन सूचना प्रवाह र विपद् उद्धारका सन्दर्भमा समेत रेडियोको भूमिका महत्त्वपूर्ण छ ।
समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम रहेको त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेल बताउछन् । श्रोताको आवश्यकतालाई सुन्दै तदनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौतीहरूको समाधानका लागि आवश्यक विविध दृष्टिकोण र आवाज सुनिश्चित गर्न रेडियो सेवाले सहयोग पुर्याउने उनको कथन छ ।
नेपालको भौगोलिक तथा अन्य सामाजिक, साँस्कृतिक तथा धार्मिक हिसावले विविधता रहेकाले नेपालमा रेडियोको लोकप्रियता अझै कायमै छ । नेपाली जीवन शैलीको कारणले पनि अन्य सञ्चार माध्यमको तुलनामा रेडियो माध्यम लोकप्रिय र उपयोगी बनेको हो । नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको हो । अहिले पनि रेडियो सबैको पहुँचमा छ । रेडियोले हरेक घटना परिघटनामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोपजस्ता इतिहासका महत्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरूले सूचना सम्प्रेषणमा पुर्याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रूपमा देख्न सकिन्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल र अनलाइन न्युज पोर्टलको विकासले रेडियोको महत्व केही कम भएको छ । रेडियो सुन्ने स्रोताहरु अहिले निकै कम भएका छन् ।