राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८२ चैत्र १५, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधनविरुद्ध परेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको हो ।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले पनि चार दिन सुनुवाइ गरी रवि बाहेकको हकमा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।
महान्यायाधिवक्ताले लामिछानेका दुई वटा मुद्दाको कसुर संशोधनको निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई सकिएर यस्तो आदेश आएको हो । सर्वोच्च अदालतका यिनै रिट देखाउँदै सरकारी वकिलले दिएको संशोधन निवेदनमा कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालतले पनि निर्णय नगर्ने आदेश गरेका छन् ।
‘रवि लामिछाने गत भदौ २४ गते नख्खु कारागार तोडेर भागेका व्यक्ति हुन्। उनीविरूद्ध कारागार ऐन अनुसार मुद्दा चलाएर दण्डित गर्नु र असंख्य जाहेरवाला पीडितको निक्षेप रकम दुरूपयोग गरेको गम्भीर अभियोग र संगठित एवं सम्पत्ति शुद्धीकरणसँग सम्बद्ध अपराधको अभियोगलाई कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालय तल्लिन रहेको देखिएको हुँदा ती मुद्दाहरूलाई कमजोर बनाउने र प्रतिकूल असर पार्ने गरी आफ्नो संस्थाको मर्यादा विपरीत कुनै पनि काम-कारबाही नगर्नू भनी परमादेशको आदेश जारी गरिपाऊँ,’ निवेदनमा भनिएको छ ।