राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२०८३ बैशाख १४, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो ।
त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपालले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा हेर्दै आएको उल्लेख गर्दै उनले बदलिँदो विश्व सन्दर्भमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताए ।
मन्त्री डा तिमिल्सिनाले नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार सेवा विस्तार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउन डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइएको बताए । यी क्षेत्रमा जापानको प्राविधिक सहयोग, लगानी, क्षमता विकास तथा अनुभव आदानप्रदान अत्यन्त उपयोगी हुने उनको भनाइ थियो ।
मन्त्री डा तिमिल्सिनाले नेपालमा राजनीतिक स्थिरता कायम भएको र बलियो सरकार बनेकाले क्रमशः लगानीमैत्री वातावरण निर्माण हुँदै गएको स्पष्ट पारे । नीतिगत सुधार, कानुनी संरचना सुदृढीकरण तथा प्रशासनिक प्रक्रियाको सरलीकरणमार्फत वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने सरकारको योजना रहेकोसमेत उनले बताए । नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको उल्लेख गर्दै उनले विशेषगरी सूचना प्रविधि, डिजिटल सेवा, ‘क्लाउड’ पूर्वाधार, ‘ई–गभर्नेन्स’ प्रणाली तथा नवप्रवर्तन उद्योगमा लगानी आवश्यक रहेको बताएका थिए ।
राजदूत तोरुले नेपालमा सूचना प्रविधि क्षेत्रको तीव्र विकासका लागि दुई देशबीच थप सहकार्य गर्न सकिने धारणा राखेका थिए।