राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ बैशाख १५, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकाे नेतामा निर्विराेध निर्वाचित भएपछि भीष्मराज आङदेम्बेले आफ्नो सक्रियता बढाएका छन् ।
जिम्मेवारी सम्हालेलगत्तै उनले पार्टीका शीर्ष नेताहरूसँगको संवादलाई तीव्रता दिँदै राजनीतिक समन्वयको प्रयास थालेका हुन् । यसै क्रममा उनले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
आङदेम्बेले सबैभन्दा पहिला पार्टीको संस्थापन पक्षका बलिया आधार मानिने खड्कालाई भेटेर पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् । पार्टीभित्रको आन्तरिक एकता र संसदीय दलमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा खड्कासँग उनको लामो परामर्श भएको बताइएकाे छ ।
विशेषगरी पार्टीको कार्यदिशा र संसदीय दलको रणनीतिका सम्बन्धमा दुई नेताबीच भएको यो भेटलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ । संस्थापन पक्षको साथ र सहयोग सुनिश्चित गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने आङदेम्बेको योजनाका रूपमा यसलाई हेरिएको छ ।
खड्कासँगको भेटपछि आङदेम्बेले संस्थापन इतर समूहका प्रभावशाली नेता डा. शेखर कोइरालाको निवासमा पुगेर संवाद गरेका छन् । पार्टीभित्रको गुटगत समीकरणलाई सन्तुलनमा राख्न र सबैलाई समेटेर अगाडि बढ्ने सन्देश दिनका लागि उनले कोइरालासँग छलफल गरेका हुन् ।