राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ साउन २८, काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेको संख्या १० पुगेको हो ।
मृतक सबैको सनाखत पनि भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकमध्ये रोल्पाका विभिन्न ठाउँमा ५ जनाको र छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो ।
मृत्यु हुनेहरुमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगर छन् । उनीहरूको शव रोल्पामै भेटिएको प्रहरीले जनाएको छ।
यस्तै, प्युठानमा भेटिएका शवमा ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको प्युठान प्रहरीले जनाएको छ । उनीहरूका आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर बेपत्ता हुनेमा ९ वर्षीय अशिम पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर छन् ।
पहिरोमा घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको रोल्पा प्रहरीले जनाएको छ ।
पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले बताएका छन् ।