मंगलवार, २ भाद्र, २०८३

छानबिन समितिले गृहमन्त्रीलाई बुझायो सुनसरी-सिरहा घटनाको प्रतिवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

छानबिन समितिले गृहमन्त्रीलाई बुझायो सुनसरी-सिरहा घटनाको प्रतिवेदन

२०८३ भदौ ०२, काठमाडौँ । सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाको वास्तविक अवस्था अध्ययन गर्न गठित छुट्टाछुट्टै छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गरेका छन् ।

दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । प्रतिवेदनमाथि मन्त्रालयले अध्ययन गरेपछि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताइन् ।

गत साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावपछि झडपको अवस्था सिर्जना भएको थियो। उक्त घटनामा सुरक्षाकर्मीको गोली लागेर स्थानीय चार जनाको मृत्यु भएको थियो ।

घटनामा सुरुमा कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो । त्यसपछि गोली लागेर घाइते भई उपचाररत जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि ज्यान गएको थियो ।

सुनसरीमा उत्पन्न विवादको प्रभाव सिरहासम्म पुगेपछि त्यहाँसमेत तनाव र गोली चल्ने अवस्था बनेको थियो । सो घटनामा गणेश यादवको मृत्यु भएको थियो ।

दुवै जिल्लाका घटनाको प्रकृति र अवस्थाबारे छुट्टाछुट्टै अध्ययन गर्न गृह मन्त्रालयले दुईवटा समिति गठन गरेको थियो ।

दुवै समितिले स्थलगत तथा अन्य पक्षको अध्ययनपछि तयार पारेको प्रतिवेदन मंगलबार नै मन्त्रालयमा बुझाएका हुन् । अब प्रतिवेदनमा उल्लेखित विषयवस्तुको अध्ययन गरी घटनामा देखिएका कमजोरी, जिम्मेवारी र आवश्यक कारबाहीबारे मन्त्रालयले प्रक्रिया अघि बढाउने जनाएको छ ।

advertisement_1680627680.gif