सोमबार, १२ आश्विन, २०८३

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

२०८३ असोज १२ काठमाडौँ I प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारीसमेत थपिएकाले आवश्यक कानुनी एकरुपताका लागि विधेयक ल्याउनुपरेको बताए । यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले महिलाको सम्मान र सशक्तीकरणबिना राष्ट्रको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै प्रस्तावित विधेयकमा पूर्ण समर्थन रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद यज्ञमणि न्यौपानेले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभुति गराएको बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले विधेयक ल्याउँदा त्यसको औचित्यता र कारणमा प्रष्ट हुनुपर्ने धारणा राखे । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद टुकाभद्रा हमालले असहाय नागरिक, अपाङ्गता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने बताए ।

बैठकमा सांसदहरु अम्बिकादेवी सङ्ग्रौला, गणेशबहादुर विश्वकर्मा, ज्ञानु पौडेल, गुरुप्रसाद बराल, सुशीला ढकाल (आचार्य), साजिदा खातुन सिद्धिकी, लालविक्रम थापा, बिश्वराज पोखरेल र पार्वती विकले विधेयकमाथिको छलफलमा भाग लिइ आ–आफ्ना धारणा राखेका थिए ।

advertisement_1680627706.gif