शुक्रबार, २२ श्रावण, २०८३

ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर ल्याइयो नेपाल

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर ल्याइयो नेपाल

२०८३ साउन २१, काठमाडौँ । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अनुभवी पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को पार्थिव शरीर स्वदेश ल्याइएको छ ।

ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ जना नेपाली पर्वतारोही र अन्य गरी कुल १० जनाले ज्यान गुमाएका थिए । तीमध्ये हालसम्म गुरुङको मात्र शव नेपाल ल्याइएको हो ।

दशपटक सगरमाथाको सफल आरोहण तथा ८,००० मिटरभन्दा अग्ला हिमाल २८ पटक सफलतापूर्वक चढेका कीर्तिमान पर्वतारोही गुरुङ गोरखाको लाप्राक गाउँका बासिन्दा हुन् ।

नेपाल पर्वतारोहण संघको कार्यालयमा उनको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली सभाका क्रममा दिवंगत पर्वतारोही गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइएको थियो भने शोकमा डुबेका परिवारजन र आफन्तहरूले फूल, माला तथा खादा चढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गुरुङ गत साता पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाउने नेपाली आरोहीमध्ये एक थिए । प्रतिकूल मौसम र कठिन हिमाली भूगोलका कारण उद्धार कार्य जटिल बनेको थियो । लामो प्रयासपछि उद्धार टोलीले उनको पार्थिव शरीर आधार शिविरसम्म ल्याई त्यसपछि नेपाल पठाएको हो ।

अनुभवी आरोहीका रूपमा परिचित गुरुङको निधनले नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै पर्वतारोहण समुदायले दुःख व्यक्त गरेको छ ।

परिवारका अनुसार काठमाडौंमा अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टिका लागि गृहजिल्ला लगिनेछ ।

advertisement_1676551694.gif