शुक्रबार, २२ श्रावण, २०८३

नेपाली कांग्रेस आधिकारिकता विवाद: सर्वोच्च अदालतद्वारा मुद्दा पुनरवलोकनको अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

नेपाली कांग्रेस आधिकारिकता विवाद: सर्वोच्च अदालतद्वारा मुद्दा पुनरवलोकनको अनुमति

२०८३ साउन २१, काठमाडौँ ।नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दालाई पुनरवलोकन (रिभ्यू) गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने यसअघिको आदेशलाई पुनरवलोकन गर्न पेस भएको निवेदनमाथि सुनुवाइ गर्दै अनुमति प्रदान गरेको हो।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिने फैसला गरेको थियो, जसका विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का पुनरवलोकनका लागि सर्वोच्च पुगेका थिए ।

सर्वोच्चको यो नयाँ आदेशसँगै अब ३ जना न्यायाधीशको इजलासमा अघिल्लो फैसलाको वैधतामाथि पुनः बहस हुनेछ र त्यसै फैसला बमोजिम पार्टी आधिकारिकताको अन्तिम निरूपण हुनेछ। यसैबीच, हाल विदेशमा रहेका पूर्वसभापति देउवा पनि आगामी साताभित्रै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

advertisement_1676551537.gif