राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८२ पुष १४, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउन ५५ दलले धरौटी बुझाएका छन् । आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ५५ दलले बन्द सूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् ।
धरौटी बुझाउने सूचीको पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने अन्तिम नम्बरमा नेशनल रिपब्लिकन पार्टी रहेको छ । यस्तै नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (एमाले) लगायतका दल रहेका छन् । बन्द सूची पेश गर्नु अघि राजनीतिक दलले ५० हजार धरौटी बुझाउनुपर्ने व्यवस्था छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार हालसम्म १५ दलको बन्दसूची दर्ता भएको बताए । भट्टराईले राती १२ बजेसम्म समय तोकिएपनि भित्र प्रवेश गरेकालाई सेवा दिने जानकारी दिए । उनले भने, 'आज सेवा लिन कार्यालयभित्र आएकालाई हामीले बन्देज लगाउँदैनौं।' भट्टराईले बन्द सूची पेश गर्ने समय थप नहुने बताए ।
१०० वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । आयोगले सार्वजनिक गरेको तालिका अनुसार समानुपातिकतर्फ आज बन्दसूची पेश गर्ने अन्तिम समय हो ।