मंगलवार, १७ असार, २०८२

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम १० प्रतिशत पुरा, दैनिक दुई चरणमा काम

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ आश्विन, २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम १० प्रतिशत पुरा, दैनिक दुई चरणमा काम

चितवन, असोज २७ । चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ । रंगशाला निर्माण कार्य दशैंमा पनि राकिएको छैन । हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ। गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो ।

विसं २०८३ पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रंगशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले ५० करोड विनियोजन गरेका छन् ।

रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ। चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताइन्। काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif