बुधबार, १० भाद्र, २०८३

कालो चस्मा लगाउनुपर्ने कारणसहित प्रधानमन्त्री शाहले संसद सचिवालयलाई गराए जानकारी

राष्ट्रिय सन्‍देश संबाददाता, २२ घण्टा पहिले

कालो चस्मा लगाउनुपर्ने कारणसहित प्रधानमन्त्री शाहले संसद सचिवालयलाई गराए जानकारी

२०८३ भदौ ०९ काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यगत कारण खुलाउँदै संघीय संसद सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र पठाएका छन् ।

संसद स्रोतले जनाएअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रमा आँखासम्बन्धी समस्याका कारण प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको उल्लेख छ । संसद बैठकमा कालो चस्माको प्रयोगबारे सभामुखबाट चासो व्यक्त भएपछि त्यसको कारण र स्वास्थ्य परीक्षणसम्बन्धी विवरण सचिवालयमा औपचारिक रूपमा पठाइएको हो ।

प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्रीको आँखा परीक्षण गरेका थिए ।

आँखा परीक्षणपछि चिकित्सकले उनको आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री बालेनले साउन २६ गते संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराएका हुन् ।

उज्ज्यालोमा हेर्न गाह्रो हुने भएकाले नै बालेनले कालो चस्मा लगाउने गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदै छन्। उक्त बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम छ।

advertisement_1676553851.gif