राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ चैत्र, २०८२
२०८२ चैत्र २२, काठमाडौं।इरान र अमेरिका-इजरायल युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकट र इन्धनको मूल्यवृद्धिलाई मध्यनजर गर्दै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी सोमबारदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्था र बढ्दो मूल्यका कारण इन्धन खपत घटाउन यो कदम चालिएको बताएका छन्।
अब शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने छन् । शैक्षिक संस्थाबाहेकका अन्य सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ। डिजेल र पेट्रोलबाट चल्ने गाडीहरूलाई विद्युतीय (Electric) गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय तनावका कारण नेपालमा इन्धनको भाउ आकाशिएको छ। हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगिसकेको छ। इन्धनको खपत कम गरी विदेशी मुद्रा सञ्चितिमा पर्ने चाप घटाउन सरकारले यो 'नयाँ कार्यतालिका' कार्यान्वयनमा ल्याएको हो।