राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २१ चैत्र, २०८२
२०८२ चैत्र २१, काठमाडौं ।नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको पूर्वघोषित निर्णयअनुसार शनिबारदेखि कांग्रेसले सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रारम्भिक तयारीलाई तीव्रता दिएको हो।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक विशेष कार्यक्रमका बीच निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेका छन्।
आगामी वैशाख महिनाभर ७७ वटै जिल्लामा नयाँ सदस्यता वितरण र पुराना सदस्यहरूको विवरण अद्यावधिक गरिनेछ।यसपटक कांग्रेसले 'डिजिटल कार्ड' प्रणालीलाई कडाइका साथ लागू गर्ने भएको छ। वैशाखभित्र विवरण अद्यावधिक गरी 'कांग्रेस आइडी' प्राप्त नगर्ने व्यक्तिहरू महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छैनन्। प्रतिनिधिहरूले जिल्ला तहमा पुगेर गत निर्वाचनको समीक्षा गर्नुका साथै नागरिकका गुनासा सुन्ने र सामाजिक गतिविधिमा संलग्न हुने जिम्मेवारी पाएका छन्।
यसअघि चैत २१ गतेदेखि नै महाधिवेशनको प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका पारित भएको थियो। महामन्त्री पौडेलका अनुसार, यो अभियान केवल प्राविधिक तयारी मात्र नभई पार्टीलाई वैचारिक र सांगठनिक रूपमा जनतासँग जोड्ने माध्यम पनि हो।
प्रतिनिधिहरूलाई जिल्ला खटाउनुअघि दिइएको यस अभिमुखीकरणले तल्लो तहसम्म पार्टीको नीति र महाधिवेशनको सन्देश प्रभावकारी रूपमा पुग्ने विश्वास कांग्रेसले लिएको छ। सदस्यहरूको अन्तिम नामावली र 'आइडी' वितरणको काम सकिएपछि महाधिवेशनको अन्य प्रक्रियाहरू क्रमशः अघि बढ्ने बताइएको छ।