राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ चैत्र, २०८२
२०८२ चैत्र २२, काठमाडौं ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ।
यसअघि सर्वोच्चले दुवै नेताको पक्राउका विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै 'कारण देखाउ आदेश' जारी गरेको थियो। विपक्षी निकायहरूबाट लिखित जवाफ प्राप्त भएसँगै अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तय गरेको सर्वोच्च प्रशासनले जनाएको छ।
गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन' का क्रममा भएका हिंसात्मक घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई दोषी देखाउदै उनीहरूविरुद्ध फौजदारी अभियोगमा थप अनुसन्धान गरी कानूनी कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो।
सरकारले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।केपी शर्मा ओली: पक्राउ परेलगतै स्वास्थ्यमा समस्या देखिएपछि उनी हाल अस्पतालमा भर्ना भई चिकित्सकको निगरानीमा उपचाररत छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन्।